(१) जलाधार संरक्षण अधिकृतले संरक्षित जलाधार क्षेत्र भित्रको तोकिदिएको जग्गामा भू–उपयोगिता प्रणाली अपनाई कुनै बाली वा फलफूलको खेती गर्न तथा रुख, विरुवा वा घाँस लगाउन वा अन्य कुनै कार्य गराउन सक्नेछ ।
(२) उपदफा (१) बमोजिम तोकिदिएको जग्गा कसैको निजी स्वामित्व भएको जग्गा भएमा सम्बन्धित जग्गाधनी वा मोहीले आफनो जग्गामा भू–उपयोगिता प्रणाली अपनाई त्यस्तो कार्यहरु गर्नु पर्नेछ ।
(३) उपदफा (२) बमोजिम भू–उपयोगिता प्रणाली अपनाई कार्यहरु गर्न जग्गाधनी वा मोहीलाई विभागले प्राविधिक ज्ञान तथा सेवा उपलब्ध गराउनेछ र आवश्यक आर्थिक सहयोग समेत तोकिए बमोजिम दिनेछ ।
(४) उपदफा (१) बमोजिम भू–उपयोगिता प्रणाली अपनाई कुनै कार्य गर्न लगाएको कारणबाट कुनै जग्गाबाट मोही निष्काशित हुने भएमा त्यस्तो मोहीलाई नेपाल सरकारले मुआब्जा दिनेछ । भू–उपयोगिता अपनाई कुनै कार्य गर्न लगाएको जग्गामा सम्बन्धित जग्गाधनीले मुआब्जा लिई आफ्नो स्वामित्व नेपाल सरकारलाई छोड्न चाहेमा, त्यस्तो जग्गाधनीले स्वामित्व छोड्न सक्नेछ । त्यसरी स्वामित्व छोड्ने जग्गाधनी र मोहीलाई मुआब्जा दिंदा प्रचलित दरभाउलाई ध्यानमा राखी मुआब्जा दिइनेछ ।